पाल्पा,१२ कार्तिक ।
कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् भने एकजनाको उद्धार गरिएको छ । पाल्पा र स्याङ्जाको सिमाना राम्दीमा बुधबार पौडी खेल्ने क्रममा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखन शाही बेपत्ता भएका हुन् ।

शाहीसँगै पौडी खेल्न गएका उनकै साथी १६ वर्षीय बिराज न्यौपानेलाई प्रहरी र स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् ।

स्थानीय गोविन्द श्रेष्ठले पौडी खेलेर न्यौपानेलाई जीवितै उद्धार गर्न सफल भएको राम्दी प्रहरीले जनाएको छ । बेपत्ता शाहीको स्थानीय बासिन्दा र प्रहरीले खोजतलास गरिरहेको बताइएको छ ।

साथीहरूसँग घुम्न आएका र राम्दीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा घटना भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ ।