काठमाडौँ,२ कार्तिक ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीकाे आन्दोलनको मुख्य उद्देश्य सरकार परिवर्तन नभएको दाबी गरेका छन् ।

राजधानी काठमाडौंमा आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा उनले जेनजीको माग प्रधानमन्त्रीको राजीनामा नभएर भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने मात्रै भएको दाबी गरेका हुन् । उनलेे जेनजी आन्दोलनका मागलाई सही र न्यायोचित ठहर गर्दै आफू त्यही उद्देश्यका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे ।

‘यो अहंकारको कुरा होइन, सत्य बोल्ने मेरो बानी हो,’ ओलीले भने, ‘जेनजीहरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूको खुला तीन वटा माग मात्रै थिए- भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने ।’

उनका अनुसार ती मागहरू राष्ट्रिय हितसँग मेल खाने र सुधारको दिशामा उन्मुख थिए । ओलीले थपे, ‘उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन् । म तिनै तीन कुराका लागि लडिरहेको थिएँ ।’

पूर्व प्रधानमन्त्री ओलीले आफू सामाजिक सञ्जाल बन्द गर्ने नभई उत्तरदायी रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा रहेको पुनः दोहोर्याए ।

वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक नै भएको उनको जिकिर छ ।

उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नै हुन संविधानले हुन नदिने भन्दै त्यसपछिको प्रक्रिया पनि गलत भएको बताए ।

कुनै पनि हिसाबले सुशीला कार्कीको नियुक्तलाई स्वीकार गर्न नसकिने भन्दै उनलेे प्रधानमन्त्री नियुक्तिलाई आफूले असंवैधानिक नै भन्ने बताए ।

उनले संसद् पुनर्स्थापनाको विकल्प नै नभएको बताए । उनले विगतमा आफूले संसद् विघटन गर्दा असंवैधानिक भन्नेहरूले अहिले विघटन गर्दा असंवैधानिक किन भन्न नसकेको भन्दै कटाक्ष समेत गरे ।