काठमाडौँ,२ कार्तिक ।
जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाट गरेको आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ जडीबुटी बस्दै आएका ४८ वर्षीय गौतम घिसिङ रहेका छन् । उनलेे गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरी माथि आक्रमण गर्ने,आगजनी गर्ने, हतियार लुटपाट गर्ने अपराधमा संलग्न रहेको प्रहरीको आरोपमा छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गर्ने, प्रहरी टोली माथि आक्रमण गरी बर्दी खोल्न लगाई बागमती खोलामा सांघातिक आक्रमण गर्ने, कर्तव्य पालनमा खटिएका प्रहरीको हतियार तथा गोलीगठ्ठा लुटपाट गरेकाे आराेपमा घिसिङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन भट्टराईले बताए ।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार काठमाडौँ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गर्न नहुने कसूरमा आठ दिनको म्याद थप भई घिसिङमाथि अनुसन्धान भइरहेको छ । उनी प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसूरमा मुद्दा दर्ता भई फरार रहेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।








