काठमाडौँ,१ कार्तिक ।
तिहारकाे समयमा माैसम आंशिक बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्षको तिहारमा कुनै उल्लेखनीय ठुलो मौसमी प्रणालीको प्रभाव नरहे पनि पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुन सक्ने महाशाखाको प्रक्षेपण छ । महाशाखाले शनिबार माैसम सम्बन्धि बुलेटिन जारी गरी यश बर्षकाे तिहारमा देशका पहाडी भू–भागका एक-दुई स्थानमा फाटफुट वर्षा तथा उच्च हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको जनाएको हो ।

यस्तो छ महाशाखाले जारी गरेको तिहारकाे मौसम पूर्वानुमान :

कार्तिक ३ गते (लक्ष्मी पूजा)
लक्ष्मी पूजाको दिन देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
कार्तिक ४ गतेः
यस दिन पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना कायमै रहनेछ ।

कार्तिक ५ गते (गोवर्धन पूजा)

गोवर्धन पूजाको दिन देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । कोशी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

कार्तिक ६ गते (भाइटीका)

भाइटीकाको दिन कोशी र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

तिहार अवधिभर सर्वसाधारणलाई मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि सचेत रहन महाशाखाले आग्रह गरेको छ ।