काठमाडौं,३१ असाेज ।
गृह मन्त्रालयले विगतका सरकारको संरक्षणमा रोकिएको र अवरुद्ध हँुदै आएका विभिन्न भ्रष्टाचार र अनियमिततासम्बन्धी छानबिन र अनुसन्धानलाई अघि बढाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयका अधिकारीहरू र प्रहरी प्रशासनको नेतृत्वलाई समेत विगतमा रोकिएका विभिन्न भ्रष्टाचार र अनियमितताका फाइलहरू सम्बन्धमा अनुसन्धान गर्न निर्देशन दिएका छन् । विगतमा अनुसन्धान भएका र उच्च नेतृत्वकाे संरक्षणमा लुकाइएका विभिन्न काण्डहरूका बारेमा छानबिन थालिएको उनलेे जानकारी दिए । बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले कतिपय ठूला भ्रष्टाचार प्रकरणमा अनुसन्धान थालिएको र ठूला माछा समातिन सक्नेतर्फ संकेत गर्दै कसैलाई पनि नछोडिने स्पष्ट पारे ।
गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन पछि बनेको सुशीला कार्की नेतृत्वको सरकारको दुई मुख्य जिम्मेवारीमा २१ फागुनमा निर्वाचन गराउनु र मुलुकमा सुशासन कायम गर्नु रहेको भन्दै उनलेे सोअनुसार सुशासन कायम गर्न सरकारले विभिन्न भ्रष्टाचारको फाइलहरू खोल्न थालेको बताए । ठूला भ्रष्टाचार काण्डहरूमाथि छानबिन थालेको गृह मन्त्रालयले सुन तस्कहरूमाथि निगरानी बढाइएको छ । यसै क्रममा सुन तस्करी प्रकरणमा मुछिएका माओवादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परी जेल चलान भइसकेका छन् ।
जेन–जीका विभिन्न समूहले पनि प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्याललाई भेटेर मुलुकमा सुशासन कायम गर्न र विगतका ठूला ठूला भ्रष्टाचारका फाइलहरूमाथि अनुुसन्धान गर्न आग्रह गर्दै आइरहेका छन् ।
बर्तमान सरकार र गृहमन्त्रालयलाई अहिले विगतका सरकारले मच्चाएका र लुकाएका ठूला ठूला काण्डहरू छानबिन गरी भ्रष्टाचारीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने दबाब छ ।
गृह स्रोतका अनुसार विगतमा अनुसन्धान हुँदै गर्दा बिचैमा रोकिएको नक्कली भुटानी शरणार्थी प्रकरणको फाइलमाथि अनुसन्धान थालिएको छ । यसै गरी विभिन्न समयका सुन तस्करी काण्डलाई पनि फेरि छानबिन गर्नुपर्ने दबाब गृहमन्त्रालयलाई छ । गृहमन्त्रालयमा ६० केजी सुन तस्करी काण्ड, ९ केजी सुन तस्करी काण्ड, सहकारी भ्रष्टाचार काण्ड, हदबन्दी छुटको जग्गा अनियमितता काण्ड, गिरीबन्धु टि–स्टेट काण्ड, सार्वजनिक जग्गा अनियमितता काण्डलगायत अन्य विभिन्न तस्करी काण्ड छानबिन गर्ने सम्बन्धमा आवश्यक छानबिन भइरहेको छ ।
केही ठूला भ्रष्टाचार काण्डमा मुछिएका नेता तथा पूर्व मन्त्रीहरूलाई निगरानीमा राखिएकाे र उनीहरूको सम्पत्तिका बारेमा समेत गोप्य रूपमा छानबिन थालिएको बताइएको गृहमन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
गृह मन्त्रालयका अधिकारीहरूका अनुसार कतिपय ठूला भ्रष्टाचार प्रकरणमा अनुसन्धान थालिएको र अनुसन्धानलाई तीव्रता दिएर अघि बढेकाेले भ्रष्टाचारमा संलग्न जाे कोही पनि उम्कन पाउँदैनन् ।








