काठमाण्डाै, ३० असोज ।
चीन, अमेरिका, इजरायलसहित ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलाएको छ ।
सरकारले केपी शर्मा ओलीकाे पालामा राजनीतिक नियुक्ति पाएका ११ देशका राजदूतहरूलाई फिर्ता बाेलाउने निर्णय गरेकाे छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन, जर्मनी, मलेशिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नेपाली आवासीय राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
फिर्ता बोलाइएका राजदूतहरू आउँदाे कात्तिक २० गतेसम्म नेपाल फर्किसक्नुपर्ने उनले बताए । सरकारले भारतका लागि नेपाली आवासीय राजदूतलाई भने फिर्ता बोलाएको छैन ।
मन्त्रिपरिषद् बैठकले सार्वजनिक वित्त व्यवस्थापनलाई मजबुत बनाउन विश्व बैंकबाट प्राप्त हुने १० मिलियन अमेरिकी डलरको अनुदान स्वीकृत गर्ने निर्णय गरेकाे छ ।
यस्तै नेपाल–भारतबीच विद्युत् व्यापारलाई बढावा दिनका लागि २ वटा प्रमुख ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न भारतीय कम्पनीहरूसँग संयुक्त लगानी स्थापना निर्णय भएकाे प्रवक्ता खरेलले बताए ।
उनका अनुसार पूर्वी नेपालको इनरुवा–पुर्णिया ४०० केभी प्रसारण लाइन र सुदूरपश्चिमको दोधारा–बरेली ४०० केभी अन्तरदेशीय लाइन निर्माणको अनुमति प्रदान गर्ने निर्णय पनि भएकाे छ ।








