काठमाडौँ,२९ असाेज ।
जेनजीका नाममा विभिन्न कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडेकाे आराेपमा अर्जुन शाही पक्राउ परेका छन् ।
उनलाई कोटेश्वरबाट पक्राउ गरिएको काठमाडौँ परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरी परेको अभिलेखमा भेटिएको प्रहरीले जनाएको छ ।
यसअघिका उजुरीहरु पनि रहेको र पछिल्लो समय पनि विभिन्न गैरकानुनी गतिविधि गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको एसपी भट्टराईले बताए ।
शाहीसहितको टोलीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर झगडा गरेका थिए । यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विभिन्न आरोप लगाउँदै शाहीको टोलीले राजीनामा माग गरेका थिए ।
यस्ता गतिविधिमा संलग्न शाही सुशीला कार्की प्रधानमन्त्री बन्दा शीतलनिवासमा जेनजीको अगुवा बनेर पुगेका थिए । सुशीलाले त्यतिबेला सुदन गुरुङसँगै शाहीसहितका जेनजीसँग एकसाथ हातमा हात मिलाएकी थिइन् ।
पीडितको लाखौँ रकम ठगेका आरोपित शाही भने सुशीलासँग शीतल निवास प्रवेश गरेपछि थप कार्यालयमा कर्मचारी धम्क्याउँदै हिँडिरहेका थिए । बुधबार मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई कारबाही हुने बताएका थिए ।
यस्ता गतिविधि प्रहरीको निगरानीमा रहेको अर्यालले भनेका थिए ।
शाहीविरुद्ध यसअघि वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने, चेक बाउन्स लगायतका मुद्दा परेको थियो ।








