काठमाडौँ,२९ असाेज ।
नेपाल लगातार तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ ।

बुधबार भएको सुपर सिक्सको दोस्रो खेलमा यूएईले सामायोमाथि ७७ रनको फराकिलो जित निकालेपछि नेपाल र ओमान दुई खेलअघि नै विश्वकपका लागि छनोट भएका हुन् ।

विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुनेछ ।

यससँगै नेपालले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो । नेपालले सन् २०१४ मा पहिलो पटक आईसीसी टी–२० विश्वकप खेलेको थियो । त्यसको १० वर्षपछि नेपालले सन् २०१४ मा विश्वकपमा स्थान बनाएको थियो । यो पटक पनि नेपालले विश्वकपमा स्थान बनाएपछि लगातार दोस्रो पटक विश्वकप खेल्न लागेको हो ।

नेपालले तेस्रो पटक विश्वकपमा स्थान बनाएसँगै टोलीमा पहिलो पटक विश्वकप खेल्ने टोलीबाट सोमपाल कामी मात्र छन् ।

नेपालले सन् २०२३ मा घरेलु मैदानमा भएको छनोटमा युएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो । संयोग त्यसअघि सन् २०२२ मा युएईसँग पराजित हुँदा नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको थियो ।

सुपर सिक्समा सामोयालाई पराजित गरेपछि युएइएको विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । यद्यपी युएईले सुपर सिक्सको आफ्नो अन्तिम खेल र अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

बुधबारको पहिलो खेलमा कतारले जापानलाई ३ विकेटले हराएपछि जापानको विश्वकप पुग्ने सम्भावना केही कठिन बनेको हो ।

सुपर सिक्सको बुधबारको अन्तिम खेलमा आजै नेपाल र ओमान खेल्दैछन् । सो खेल राति ८ः४५ मा सुरु भएको छ । सुपर सिक्समा युएईले सामायोलाई हराएपछि नेपाल र ओमान खेल अघि नै विश्वकपमा पुगेका हुन् ।

सुपर सिक्समा नेपालले युएईलाई १ र कतारलाई ५ रनले हराएको थियो । सुपर सिक्सको अन्तिम खेलमा नेपालले शुक्रबार सामोयासँग खेल्नेछ ।