जेनजी आन्दोलन : सिंहदरबारमा प्रहरीको एसएलआर लुटेर प्रदर्शन गर्ने युवक पक्राउ

22

काठमाडौँ,२९ असाेज ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरबारमा प्रहरीको एसएलआर (सेल्फ लोडिङ राइफल) लुटेर अराजकता प्रदर्शन गरेको आराेपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १३ कुसुन्तीका ३६ वर्षीय सम्राट भन्ने राजु परियार रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका २६ सुनाकोठीबाट पक्राउ गरेर थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरमा बुझाएको हो । जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेर सिंहदरबार तर्फ ताक्दै हिँडेको भिडिओ सार्वजनिक भएको थियो । उनले प्रहरीबाट लुटेको हतियार भने फेला परेको छैन ।

परियारले प्रारम्भिक सोधपुछका क्रममा पछि उक्त हतियार नेपाली सेनालाई बुझाएको बताए पनि पुष्टि भएको छैन ।

उनीविरुद्ध यसअघि २०६४ सालपछि ८ वटा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीको अभिलेखमा उनीविरुद्ध ज्यान मार्ने उद्योग, अभद्र व्यवहार र ठगीका मुद्दा दर्ता भएका थिए । २०६४ माघ २० गते जिल्ला प्रहरी परिसर काठमाडौँबाट ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । २०७० असोज १४ गते पनि ललितपुरकै रोमन महर्जनको जाहेरीले ज्यान मार्ने उद्योगमै मुद्दा दर्ता गरिएको थियो ।

२०७५ पुस १३ गते नयाँ बानेश्वर बृत्तबाट ठगी सम्बन्धी कसुरमा मुद्दा चलेको थियो । उनीविरुद्ध रवि तामाङले ठगीको जाहेरी दिएका थिए । महाराजगञ्ज बृत्तबाट बैंकिङ कसुरको मुद्दामा पनि उनलाई प्रतिवादी बनाइएको अभिलेख फेला परेको छ ।

राजकुमार खड्गीको जाहेरीले २०७९ पुस १७ गते यो मुद्दा दर्ता भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरमा मिक्सार तामाङको जाहेरीले ठगी सम्बन्धी मुद्दा दुई वर्ष पहिले पनि चलेको थियो। २०८० साउन ७ गते यो मुद्दा दर्ता भएको थियो ।

२०६५ भदौ १० गते पनि अर्को मुद्दा परेको थियो । गोबिन्द रिमालको जाहेरीले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलेको थियो । अभद्र व्यहारमै रवि तामाङको जाहेरीले नयाँ बानेश्वर बृत्तबाट २०७५ पुस १३ गते पनि उनीविरुद्ध मुद्दा चलाइएको खुलेको छ ।

२०७१ वैशाख १९ गते प्रहरी वृत्त स्वायम्भुबाट ठगी सम्बन्धी अर्को कसुरमा उनलाई प्रतिवादी बनाइएको थियो । सुदन बैजुले उनीविरुद्ध ठगी सम्बन्धी कसुरमा जाहेरी दिएका थिए । उनीमाथि थप अनुसन्धान अगाडि बढाइएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।