चितवन,२९ असोज ।
चितवनको रत्ननगरमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
जिल्लाकाे रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोल स्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका हुन् ।
आज बिहान दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास भट्टले जानकारी दिए । दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका वडा नं. २ का ४५ वर्षका शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने ५४ वर्षका रेशम दराई र रत्ननगर नगरपालिका वडा नं. १२ बस्ने ४५ वर्षका कमल गुरुङ रहेका छन् ।
सो घटनामा पर्सा जिल्ला घर भई रत्ननगर नगरपालिका १२ बस्ने वर्ष ३९ का जितेन्द्र महतो र पर्सा जिल्ला घर भई रत्ननगर १२ मा बस्ने ४० वर्षका अंकजप्रसाद थारु घाइते भएका छन् । उनीहरु दुवैजनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको गाह्रो अचानक भत्किएर घटना भएको हो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।








