काठमाडौँ,२८ असाेज ।
नेपाली कांग्रेस संबद्ध तरूण दलकाे मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षप गरेको छ । मंगलबार दिउँसो त्रिपुरेश्वर हुँदै पार्टी कार्यालय सानेपा जान लागेको र्यालीलाई त्रिपुरेश्वरमा रोकेर प्रहरीले झण्डा खोसेको हो ।
पुर्ब सुचनाबीना निस्किएको र्याली नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपातर्फ जान थालेपछि राेकिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
नेपाली कांग्रेस पार्टी कार्यालयमा केन्द्रीय समिति बैठक छ । र्याली बीचमा आएको देखेपछि हामीले त्यहाँ होल्ड गरेका छौँ । हामीलाई जानकारी थिएन । एकिन भइसकेपछि उहाँहरू आ-आफ्नो ठाउँमा जानुहुन्छ’, जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको केन्द्रीय कार्यालय सानेपामा आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
जेनजी विद्रोहपछि आज सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका हुन् । भदौ २४ गते उनको निवास बूढानीलकण्ठमा आगजनी गर्दै आन्दोलनकारीले उनी र उनकी श्रीमती आरजु राणामाथि निर्घात कुटपिट भएको थियो ।
घाइते भएका देउवा स्वास्थ्य लाभ गरिरहेका छन् । आजको बैठकमा उनले उद्घाटन मन्तव्य राख्ने र त्यसपछि बाहिरिने तयारी छ ।
उक्त बैठकअघि काठमाडौँका विभिन्न क्षेत्रबाट सानो संख्यामा तरुण दलले र्याली निकालेको थियो । उक्त र्यालीलाई प्रहरीले रोकेको हो ।
केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन नियमित समयमा हुने वा विशेष भन्नेमा टुंगो लगाउनेछ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माहरू विशेषको पक्षमा छन् भने देउवा समूह नियमितमा जोड दिइएरहेको छ । तर यसमा ठोस धारणा बनिसकेको छैन ।
जेनजी आन्दोलनपछि कांग्रेसमा देउवाको बिदाइ र नेतृत्वमा उनको विकल्प खोजिएको छ । यसकारण पनि यसपटकको केन्द्रीय समिति बैठकलाई महत्वका साथ हेरिएको छ ।








