काठमाडौँ,२८ असोज ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा कतारविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित हात पारको हो ।
योसँगै नेपालले सुपर सिक्समा ६ अंक बटुलेको छ भने लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ ।
नेपाल र ओमानको अंक तालिकामा समान ६ अंक भए पनि नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको ओमानको ६ अंक जाेड्न सफल भएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै ९ विकेट क्षतिमा १४७ रन जोडेको थियो ।
१४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो ।
ब्याटिङतर्फ ओपनरद्वय कुशल भुर्तेल ६ र आसिफ शेख ११ रनमै आउट भए । नेपालका लागि कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको पारी खेले । त्यसैगरी दीपेन्द्र सिंह ऐरीले २२ बलमा २६ रन र गुल्सन झाले ८ बलमा १६ रनको योगदान दिए ।
यीबाहेक कुशल मल्ल ८, आदिल अन्सारी २, सन्दीप जोरा १, सोमपाल कामी १४ र नटआउट नन्दन यादवले १ रन जोडे । कतारले नेपाललाई ३ वाइड र १ लेगबाई रन दिएको थियो ।
कतारका डानियल आर्कर मारिया लुइसले ३ ओभर बलिङ गर्दै २२ रन दिएर नेपालको ३ विकेट तथा मिर्जा मोहम्मद बाइगले ४ ओभर बलिङमा २९ रन दिएर समान ३ विकेट झारे भने मुहम्मद असिम लियाकत अलिले ३ ओभर स्पेलमा १६ रन दिएर १ विकेट झारे पनि जितका लागि पर्याप्त भएन ।
१४८ रनको लक्ष्य पछ्याएको कतारका लागि इमाल लियानेज र जुबेइर अलिले अर्धशतकीय योगदान दिए । इमालले ५६ र जुबेइरले ५२ रन जोडे। मुहम्मदको नाममा १० रनको योगदान रह्यो ।
कतारका कप्तान मिर्जा मुहम्मद बाइगले २, मुहम्मद तनवीर ०, शाजाइब जमिल अहमद २, शरिक मुनिर ०, डानियल आर्कर ३, मुहम्मद जमन ८ तथा अमिर फारुक र नटआउट अवासिस अहमदले समान १ रन लिए । नेपालले कतारलाई ६ वाइड र १ लेगबाई रन उपहार दिएको थियो ।
नेपालले कसिलो बलिङ र फिल्डिङ गर्दा कतार अन्तिममा चुक्यो। नेपालले कतारविरुद्ध ७ बलर प्रयोग गरेको थियो ।
म्यान अफ दि म्याच सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन दिएर कतारको ५ विकेट झारेका थिए । त्यसैगरी नन्दन यादवले ४ ओभर बलिङमा २९ रन दिएर २ विकेट चट्काए भने दीपेन्द्रको नाममा १ विकेट रह्यो ।
तीन बलरले विकेट झार्दा सोमपाल कामी, रोहित पौडेल, गुल्सन झा र आदिल अन्सारी रन जाेड्न सकेनन् । आजको खेलमा नेपालले ललित राजवंशीको स्थानमा अल राउन्डर आदिल आलमलाई ल्याएको थियो ।
सुपर सिक्समा नेपालले अब ओमान र सामोआसँग खेल्न बाँकी छ ।
ओमानसँग भोलि राति ८ः४५ मा नेपालले खेल्नेछ भने सामोआसँग शुक्रबार अपराह्न ४ः१५ मा खेल्नेछ ।








