काठमाडौँ,२७ असाेज ।
हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली अधिकारीले जानकारी दिएका छन् ।
आज बिहान (स्थानीय समय अनुसार) साढे ७ बजे इजरायली अधिकारीले विपिनको अवस्थाबारे औपचारिक जानकारी गराएका हुन् ।
इजरायली डिफेन्स फोर्स (आईडीएफ) का एक वरिष्ठ अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर जोशी र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समार्फत साे जानकारी दिएका हुन् ।
राजदूत पण्डितले टेलिफोनमार्फत भने,“आईडीएफका अधिकारीले हामीलाई औपचारिक रूपमा भने-‘विपिन इज नो मोर ।’”
कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल पुगेका थिए ।
गत वर्ष अक्टोबर ७, २०२३ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए । सो आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए, जबकि विपिनलाई हमास लडाकुहरूले साथमै लगेका थिए ।
नोभेम्बर १७, २०२३ मा विपिनलाई अन्तिम पटक गाजाको अल शिफा अस्पतालमा देखिएको थियो । त्यसपछि उनको अवस्था अज्ञात रहँदै आएको थियो ।
गत बुधबार मात्र उनको पुरानो भिडियो फुटेज सार्वजनिक भएको थियो ।
विपिनको अवस्था पत्ता लगाउने उद्देश्यले सरकारले उनकी आमा र बहिनीलाई इजरायल पठाएको थियो । उनीहरू अहिले संयुक्त राज्य अमेरिकामा रहेका छन् ।







