काठमाडौँ,२५ असाेज ।
प्रधानमन्त्री सुशिला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । हाल आठ सदस्यीय रहेको कार्की मन्त्रिपरिषदमा जेनजी समुहका केहि अगुवाहरुलाई समेटेर विस्तार गर्ने तयारी गरेको बताइएको छ ।

स्रोतका अनुसार अहिलेसम्मको छलफलमा प्रधानमन्त्री कार्कीले सांस्कृतिक अभियन्ता गणपतिलाल श्रेष्ठ, अर्का अभियन्ता बब्लु गुप्ता, चिकित्सक रामजी राम र जलवायु परिवर्तन अभियन्ता टासी ल्हाजोमलाई मन्त्री बनाउने तयारी गरेकी छन् । श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन, गुप्ता युवा तथा खेलकुद मन्त्रालय, रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र टासीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यद्यपी छलफल जारी रहेको र एकदुई नाममा हेरफेर हुनसक्ने बताइएको छ । प्रधानमन्त्री कार्कीले आगामी सोमबारसम्म शपथ खुवाउने गरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेको बताइएको छ ।

कार्की नेतृत्वको मन्त्रिपरिषद्मा हाल अर्थमन्त्री रामेश्वर खनाल,उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रीमा कुलमान घिसिङ, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा र कृषि मन्त्री मदन प्रसाद परियार रहेका छन् ।