बुटवल,२३ असाेज ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुककाे शैक्षिक विकासका लागि तीन बुँदे निर्देशन दिएका छन् ।

शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिदै मन्त्री पुनले नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव यही हप्ता भित्र पेस गर्न त्यहाँ कार्यरत कर्मचारीलाई निर्देशन दिए ।

नास्टमा भवन र ल्याबहरू उच्च कोटीका रहेको भन्दै उनलेे भवन र ल्याब अनुसारको उच्चकोटीको काम हुनु पर्ने कुरामा जोड दिएका छन् ।

बुधबार नास्ट,शिक्षा तथा मानव श्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रकाे अनुगमन तथा छलफलपछि बिहीबार सामाजिक सञ्जाल मार्फत तीन बुँदे निर्देशन सार्वजनिक गर्दै मन्त्री पुनले उक्त कुरामा जाेड दिएका हुन् ।

उनले लेखेका छन्– ‘नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरू अवलोकन गरियो । ३७ करोड बजेटमा २७ करोड रुपैयाँ प्रशासनिक र १० करोड रुपैयाँ अनुसन्धान र नवप्रवर्तनमा छुट्टाएको रहेछ । नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने कुराको सुझाव त्यहाँ कार्यरत सबैलाई यही हप्ता भित्र दिन सबैलाई निर्देशन दिएको छु । भवन र ल्याबहरू उच्च कोटीका छन् । भवन र ल्याब अनुसारको उच्चकोटीको काम हुनु पर्ने कुरामा जोड दिएँ ।’

दोस्रो निर्देशनमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रसँग सम्बन्धित रहेको उल्लेख गर्दै मन्त्री पुनले शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या ज्यादै न्यून रहेको विद्यालयहरू मर्ज कसरी गर्ने, विद्यालयमा योग्य र सक्षम प्रधानाध्यपकहरुको नियुक्ति गर्न देशै भरि लागु हुने गरी कार्यविधि बनाउने, अनलाइन सिकाइको लागि डिजिटल शैक्षिक सामाग्रीहरू निर्माणमा जोड दिन कार्यक्रम बनाउने निर्देशन दिएको जनाएका छन् ।

त्यस्तै पाठ्यक्रम विकास केन्द्रसँग पनि बुधबार नै छलफल भएको जनाउँदै उनलेे सामुदायिक तथा संस्थागत विद्यालयहरूको पाठ्‌यक्रमको विकास गर्दा ज्यादै नै गम्भीर भएर काम गर्नु पर्ने, पाठ्यक्रमको परिमार्जन र अध्यावधिक समयमा गर्ने, मातृभाषाको पाठ्य पुस्तकहरूको विकासमा सहयोग गर्ने, पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधान सम्बन्धी ज्ञान दिने कुरालाई उच्च प्राथमिकता दिन निर्देशन दिएको उल्लेख गरेका छन् ।

उनलेे पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास, संविधान सम्बन्धि ज्ञान दिने कुरालाई उच्च प्राथामिकता दिने निर्देशन दिएको जनाउँदै उनलेे आगामी बर्ष देखि ९ र १० मा १०० नम्बरको कम्प्युटर विषय अनिवार्य गरिने भएकोले सोहि अनुसार पाठ्‌यक्रम विकास गर्न निर्देशन दिएका छुन् ।