काठमाडौ,२२ असोज ।
मलेसियासँगको टी-२०आई शृंखला नेपाली महिला क्रिकेट टोलीले जितेको छ ।

बुधबार विहान भएको पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२ ले जित हातपारेको हो ।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।

मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।

नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित हुँदा चौथो खेलमा ६ विकेटको जित निकालेको थियो ।