काठमाडौं,२० असोज ।
जेनजी प्रदर्शनको क्रममा निजी क्षेत्रमा भएको ताेडफाेड, लुटपाट तथा आगजनीमा संलग्नमाथि कारबाही गर्न उद्योगी ब्यवसायीहरूले माग गरेका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाललगायतका उद्योगी ब्यवसायीहरूकाे टोलीले अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर उक्त माग गरेका हुन् ।

गत भदौ २४ मा आगजानी तथा तोडफोड गर्नेमाथि कारबाही नभए निजी क्षेत्र थप निरुत्साहित हुने भन्दै उनिहरूले यथासक्य कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

निजी क्षेत्र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गर्ने कार्यमा निरन्तर क्रियाशील रहने जनाउँदै तीन संस्थाले निकालेको संयुक्त विज्ञप्तिमा उद्यमी र व्यवसायीले निर्वाध रूपमा काम गर्न पाउने वातावरण बनाउनु पर्नेमा जाेड दिएका छन् ।

वर्तमान सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको आधार तयार पार्ने अवसर पनि भएको उनीहरूले बताए ।

लगानी र अन्य स्रोत आकर्षित गर्न निजी क्षेत्रको अगुवाइ वा संलग्नतामा बहुपक्षीय वित्त सम्मेलन आयोजना गर्न समेत उनिहरूले सुझाव दिएका छन् ।

भेटमा अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर लागिपरेको बताए ।