काठमाडौ,१९ असाेज ।
वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका प्रवक्ता विभूति पोखरेलले आइतबार दिउँसो २ बजे सूचना जारी गरी मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जानकारी दिएका हुन् ।
तर मनसुन नेपालबाट बाहिरिनसकेकाेले वर्षा हुने सम्भावना अझै रहेकाे उनको भनाइ छ । तथापि बितेका २ दिनजस्तो लगातार र भीषण वर्षा अब नहुने आकलन विभागले गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको छ । तसर्थ यस विभागबाट वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएसलगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’
मौसम विभागका अनुसार यसअघि बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीका कारण यही असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म मनसुन सक्रिय भएको थियो । यस अवधिमा मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अतिभारी वर्षा तथा कोसी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि अतिभारीसम्म वर्षा भएको छ ।
मनसुन नेपाल भित्रिने सरदर मिति जुन १३ तारिख भए पनि यो वर्ष १५ दिनअगावै प्रवेश गरेको थियो भने बाहिरिन पनि केही ढिला भइरहेको हो । नेपालबाट मनसुन बाहिरिने सरदर मिति यही अक्टोबर २ तारिख थियो। तर यसमा हरेक वर्ष तलमाथि हुने गरेको छ ।







