काठमाडौं,१९ असोज ।
माैसम प्रतिकुलताका कारण हिजोदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी गराएको हो ।
विमानस्थल कार्यालयका अनुसार आज बिहान काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरका लागि उडान भइसकेको छ ।
पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।
काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक भने अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा भने अझै रोक लगाइएको छ । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ नगर्न भनिएको छ ।







