काठमाडौँ,१८ असाेज ।
निरन्तरकाे वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीहरूमा जलसतह सतर्कता तह पार गरेको छ । । जल तथा मौसम विज्ञान विभाग, खोकना जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ ।
विभागका बाढीविद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जलसतह बढ्दो क्रममा रहेको भन्दै आज राति अझै अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
“खोकनास्थित बागमती नदीमा तीन दशमलव पाँच मिटर खतराको तह रहेकोमा हाल चार दशमलव दुई मिटर जलसहत पुगेको छ । यो क्रम निरन्तर बढ्ने भएकाले सतर्कता अपनाउन आवश्यक छ,” उनले भने ।
काभ्रेस्थित रोसी, काठमाडौँको मनोहरा र बागमती नदी, मकवानपुरको लालबकैया नदीले जलसतह सतर्कता तह पार गरेको विभागले जनाएको छ ।
विभागका अनुसार बागमती र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी–नालामा जलसतह सतर्कता तह नजिक पुगेको छ । आज साँझ र राति जोखिम थप बढ्ने पूर्वानुमान गरिएकाले तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।