बुटवल,१८ असाेेज ।
भारी बर्षाकाे पुर्वानुमानसँगै पाल्पा जिल्लामा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले असोज १८ देखि २० गतेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरका अनुसार, लगातारको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेकाले तीन दिनका लागि सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

विशेषगरी पाल्पाकाे सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउँ गाउँपालिका–३ सिद्धबाबा सडकखण्ड, चाैबिसमाइल–फुलस्थित सडकखण्ड, तिनाउँ गाउँपालिका–५ चरचरे र हिउँदे खोला क्षेत्र, पाल्पा–गुल्मी सडकखण्ड तथा कालीगण्डकी करिडोरमा पहिरो जान सक्ने जोखिम उच्च भएको कारण असोज १८, १९ र २० गतेसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।