काठमाडौँ,१६ असाेज ।
अब १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न नपाइने भएको छ ।

अर्थ मन्त्रालयले बुधबार राति आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) अकाउन्टमार्फत सूचना जारी गरि १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा राख्न प्रतिबन्ध लगाएको हो ।

विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्‍त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवर्त्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाइने मन्त्रालयले जनाएको छ ।

रामेश्वर खनाल अर्थमन्त्री बनेपछि वित्तीय अनुशासन र अनुत्पादक खर्च कटौतीका नियम थप कडा बनाइएको हो ।

यसै क्रममा अर्थ मन्त्रालयले विदेशबाट नेपाल आउने नेपाली वा विदेशी नागरिकले आफूसँग ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याएका छन् भने भन्सारमा घोषणा गर्न भनेको छ ।

५ हजार डलर वा त्यस बराबरको रकम भने भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाइने सूचनामा उल्लेख छ ।

स्रोत खुलेको रकम नगदमै आफ्नो अनुकूल स्थानमा सुरक्षित राख्‍न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको तर स्रोत नखुलेको रकम सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रचलित कानुनमा भएको व्यवस्थाबाहेक तोकिएको रकमभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाट गर्नुपर्नेछ ।

अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम राख्न यही असोज ५ गते मन्त्रिपरिषद्‌ले गरेको निर्णयअनुसार सेवानिवृत्त भइसकेका पूर्वराजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा-सुविधा मात्र प्रदान गर्न पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।