चितवन,१४ असाेज ।
अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको भएको छ । साे सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोला पुल नजिकै गएको पहिरो पन्छ्याएपछि अवरुद्ध सडक सुचारु भएको हो ।

सडकमाथिबाट खसेको लेदोसहितको पहिरो पन्छ्याएपछि सडक दुवैतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

वर्षाका कारण आज साँझ ७ः३० बजे लेदोसहितको पहिरो खसेर सडक दुवैतर्फ अवरुद्ध भएको थियो । पहिरो पन्छ्याउन सडक डिभिजन कार्यालय भरतपुरको एस्काभेटर लोडर प्रयोग गरिएको थियो ।

मुग्लिन क्षेत्रमा हाल वर्षा भइरहेका कारण पहिरोको जोखिम भने कायमै रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

करिब डेढ घण्टा सडक अवरुद्ध हुँदा सडकमा सवारीको लामो जाम लागेको थियो ।

विगत केही दिनदेखि तुइनखोलामा पटक÷पटक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।