चितवन,१३ असोज ।
तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि नारायणगढ- मुग्लिन सडकखण्डमा सवारी आवागमन सुचारू भएको छ ।केहीबेर अघि सडक दुईतर्फी नै खुलेको हो ।
आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर सडक खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको भए पनि पहिरो झरिरहेकोले सडक खुलाउन समय लागेको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
चाडपर्व मनाउन हिँडेका हजारौं यात्रुहरू पहिरोका कारण बिच बाटोमै अलपत्र परेका थिए । सडक खुलेसँगै अहिले यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।
लामो समयसम्म सडक बन्द हुँदा राजमार्गमा सवारी साधनको चाप छ ।




