तत्काल निकासा नगरे कारबाही गर्ने चेतावनी

काठमाडौं, ११ असोज ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षकको तलब तत्काल निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरूले गरेपछि उनले चेतावनीपूर्ण निर्देशन दिएका हुन् ।

‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना– दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरूको गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’, पुनले भनेका छन् ।