काठमाडौं,९ असोज ।
स्थानीय वायु सक्रिय भएकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बुधबार कर्णाली प्रदेशको पूर्वी भूभागदेखि कोशी प्रदेशसम्मै परेको पानी गएरातिदेखि कम भएको थियो । तर आजै फेरि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको
मौसमविदको भनाई छ ।

मौसमविद हरिप्रसाद दाहालका अनुसार आज विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान छ । खण्डित रुपमा एक–दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने उनले बताए ।

बंगालको खाडीमा पानी पार्ने एउटा प्रणाली आज असोज ९ गतेदेखि विकसित भएको र त्यसको आंशिक असर नेपालमा पनि पर्नसक्ने सम्भावना रहेकाले अझै केही दिन वर्षा हुनसक्ने पूर्वानुमान छ । त्यसको बढी असर भने बंगलादेश, म्यानमार र भारतका सिक्किम, आसाम र मेघालयमा पर्ने सम्भावना छ । नेपालको पूर्वी सिमानासम्म आंशिक असर पार्नसक्ने सम्भावना छ । त्यसैले नेपालमा पनि पानी पर्नसक्ने पूर्वानुमान गरिएको हो ।

बंगालको खाडीमा विकसित प्रणालीलाई नजिकबाट नियालीरहेका मौसमविद हरिप्रसाद दाहालले दशैंमा मौसम कस्तो हुन्छ भनेर विशेष बुलेटिन जारी गरेर जानकारी दिने बताए । एक–दुई दिनमा दशैं विशेष बुलेटिन जारी गरेर सम्भावित मौसमी अवस्थाबारे जानकारी दिने उनले बताए ।