काठमाडौं,५ असोज ।
जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन् ।
काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५–३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए ।
हत्यापछि घरको पछाडि करेसामा मनिषाको शव गाडिएको अवस्थामा फेला परेको काभ्रेका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किएकै दिन २४ भदौमा सन्त पनि कारागारबाट फरार भएका थिए । शाहका अनुसार सन्तले ३ असोजका दिन मनिषाको हत्या गरेर घर पछाडिको करेसामा गाडेका थिए ।
३ असोजदेखि दुवै जना हराए भनेर सन्तका भाइले त्यसको भोलिपल्ट प्रहरीमा उजुरी गरेका थिए ।
उनीहरू हराएपछि खानीखोला गाउँपालिका ७ मिल्चेबाट मनिषाका माइती पक्ष आएर खोजतलास गरेका थिए । खोज्दै जाने क्रममा मनिषाका दाइ वीरबहादुरले मनिषाले लगाएको चप्पल भेटेका थिए । त्यसपछि भने घर वरिपरि नै प्राथमिकतामा राखेर मनिषाको खोजी सुरु गरिएको थियो ।
हत्यापछि तामाङ फरार छन् ।




