काठमाडौँ,५ असोज
वर्षा र बाढीपहिरोको कारण आज पनि नारायणगढ–मुग्लिन सहित देशका विभिन्न सात राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । त्यसैगरि अन्य सातवटा राजमार्गमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक पनि अवरुद्ध छ। यहाँ शुक्रबार साँझदेखि नै पहिरोले सडक अवरुद्ध छ । पहिरो ठूलो भएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

आज पनि बिहानैदेखि तीनवटा लोडर र दुईवटा एकाभेटर प्रयोग गरे पहिरो हटाउने काम जारी रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरोको कारण मुग्लिन क्षेत्रमा बिगत तीन दिनदेखि सयौँ सवारी साधन रोकिएका छन्। काठमाडौँ प्रवेश गर्ने मुख्य राजमार्ग नै अवरुद्ध हुँदा दसैँको मुखमा यात्रुले ठूलो मर्का बेहोरिरहेका छन् ।

त्यसैगरि पहिरोले म्याग्दीको बेनी दरबाङ र जाजरकोटको जारकोट डोल्पा सडक पनि अवरुद्ध छ ।

आज पनि कोसी राजमार्गको भोटखोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ । यो सडक लामो समयदेखि अवरुद्ध अवस्थामा छ ।

त्यसैगरि कोसी राजमार्गकै मकालु गाउँपालिका-३ को एकुवामा पनि सडक अवरुद्ध छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा पनि सडक अवरुद्ध छ ।

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ । यहाँ पनि लामो सयदेखि सडक अवरुद्ध हुँदै आएको छ ।

त्यसैगरि रसुवको उत्तरगया, बाग्लुङको कालीगण्डकी, नवलपरासीको दाउन्नेस्थित पूर्वपश्चिम राजमार्ग, रुकुमपूर्वको मध्यपहाडी राजमार्ग र पाल्पाको पाल्पा गुल्मी सडकमा पनि बाढी पहिरो जाँदा एकतर्फी मात्रै गाडी चलेका छन् ।,