काठमाडौ,१ असाेज ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई हटाउने संकेत गरेका छन् । मुलुकमै पछिल्लो परिस्थितिअनुसार कार्यकारी निर्देशक शाक्यले आफै राजिनामा दिएर मार्ग प्रसस्त गर्दा उपयुुक्त हुने घिसिङको सुझाव छ । शाक्यले राजीनामा नदिए मन्त्रालयले हटाउने संकेत पनि घिसिङले दिएका छन् ।
घिसिङनिकट स्रोतका अनुसार शाक्यलाई यो विषयमा अनौपचारिक सन्देश पनि प्रवाहित भइसकेको छ । प्राधिकरणको कार्यकारी निर्देशक हुँदा घिसिङलाई हटाएर शाक्य आएका थिए । करिब ४ महिना अवधि बाँकी हुँदा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा ल्याएका थिए । निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले पनि घिसिङलाई हटाएर शाक्यलाई ल्याउन प्रयास गरेका थिए ।
शाक्यले पनि घिसिङबाट आफूलाई अन्याय भएको भन्दै आएका थिए । त्यसैले पहिला पनि घिसिङलाई हटाएर शाक्य कार्यकारी निर्देशक भएका थिए । त्यसपछि फेरि शाक्यलाई हटाएर घिसिङ दोस्रोपटक कार्यकारी निर्देशक हुन पुगेका थिए ।
घिसिङ र शाक्यबीच भएको नियुक्तिको रस्साकस्सीले व्यक्तिगत दुस्मनी पनि बढाएको छ । कतिसम्म भने घिसिङको समयमा प्राधिकरणले नाफा नकमाएको भन्दै श्वेतपत्र जारी गरेर शाक्यले कार्यकालको सुरुवात गरेका थिए । त्यसको काउन्टरमा घिसिङले सार्वजनिक रूपमा प्रतिवाद गरेका थिए ।
कार्यकारी निर्देशकमा दुई जना रस्साकस्सीकै बीचमा संयोगले घिसिङ त्यही ऊर्जा मन्त्रालय सम्हाल्न आइपुगेका छन् । त्यसले शाक्यलाई थप दबाबमा पारेको छ ।
घिसिङ मन्त्रीको शपथ लिई ऊर्जा मन्त्रालयमा पदभारका लागि आउँदा हितेन्द्र शाक्य उपस्थित भएनन् । मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालयमातहतका विभाग र संस्थाका प्रमुखहरू मन्त्री पदभार ग्रहण गर्न आउँदा उपस्थित हुने प्रचलन छ । तर, शाक्यले घिसिङको पदभार ग्रहण बहिष्कार गरे । यद्यपि शाक्यले अर्को दिन फेसबुकबाट मन्त्री घिसिङलाई बधाई तथा शुभकामना दिएका थिए ।
त्यसैले, घिसिङले शाक्यलाई बिदा गरेर नयाँ कार्यकारी निर्देशक नियुक्तिको प्रयासमा रहेको निकट स्रोतले जनाएको छ ।






