काठमाडौँ,३१ भदौ ।
जेनजी युवाहरूको आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७३ पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका संख्या ७३ पुगेको प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए ।
घटनामा प्रहरीतर्फ एक असईसहित ३ जनाको मृत्यु भएको छ । मृतकमध्ये असई मिलन राय, सहायक हवल्दार अमृत गुरुङ र जवान उत्तम थापा रहेका छन् । नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमै र उपचारको क्रममा २१ जनाले ज्यान गुमाएका छन् । मृतक प्रदर्शनकारीहरूमा बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चंखे’ रहेका छन् ।
यसैगरी भदौ २४ मा भएको लुटपाट र आगजनीमा ३८ जनाको मृत्यु भएको छ । भाटभटेनी सुपरमार्केट तथा विभिन्न घरमा जलेको अवस्थामा १५ जनाको शव भेटिएको हो । कैदीबन्दी तथा बाल बन्दीमध्ये १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।