काठमाडौ,३० भदौ ।
सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाको सम्मानमा शोक मनाउने निर्णय गरेको हो ।

यसका लागि सरकारले असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्री ‌ओमप्रकाश अर्यालले जानकारी दिए । आन्दोलनमा ज्यान गुमाउनेहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिने पनि उनको भनाइ छ ।

ज्यान गुमाउनेहरूका परिवारलाई यसअघिदेखि नै दिँदै आएको १० लाख र अन्य खर्चवापत ५ गरी १५ लाख दिने निर्णय भएको अर्यालले जानकारी दिए ।

रकम अर्थमन्त्रालयमार्फत निकासा गर्ने र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण हुनेछ ।

ज्यान गुमाउनेहरू दुर्गम जिल्लाका भए यातायात र हवाई खर्च सरकारले बेहोर्ने निर्णय पनि आजको बैठकले गरेको अर्यालले बताए ।

घाइतेहरूको नि:शूल्क उपचार जारी राख्ने निर्णय पनि भएको छ । त्यस्तै जेनजी आन्दोलनमा दमन भएको भनिएको र त्यसबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।