काठमाडौँ,३० भदौ ।
नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् । सोमबार सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपछि उनले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका छन् ।

पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

युवाहरुको बलिदानबाट प्राप्त परिवर्तनलाई अगाडी बढाउन आफुहरू आएको बताउदै अर्थमन्त्री खनालले अब सबै साच्चिनै पर्ने बताए ।

उनले युवाहरुले सुम्पेको जिम्मेवारीलाई अबदेखि कुनै गल्ति नगरी पुरा गर्न आफु प्रतिबद्ध रहेको बताए । आगामी ६ महिना भित्र निर्वाचन गर्नैपर्ने भएकोले त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने उनलेे बताए । उनले आफु सिंहदरबार छिरेको ४६ बर्ष भएको उल्लेख गर्दै आफुले यस्तो विध्वंस कहिल्लै नदेखेको बताए । उनले अब यो कालोधब्बा अर्थमन्त्रालयबाटै हटाउन शुरु गर्न कर्मचारीलाई निर्देशन दिए । साथै उनले यो काम चलाउ सरकार भएकाले नयाँ सवारी साधन नकिनेर भएका सवारी साधनले काम चलाउन आग्रह गरे ।

अर्थमन्त्री खनालले भ्रष्टाचार शुन्य गरेर काम गर्ने र आम जनताको सेवालाई सहज गराउन निर्देशन दिए । आफुहरु युवाहरुको प्रतिनिधि भएकाले सरकारले आम जनतालाई दिने सेवा पहिला भन्दा फरक हुनैपर्नेमा जोड दिए । उनले राजश्व उठाउन कडाई गर्नुपर्ने बताए ।