काठमाडौँ,२९ भदौ ।
नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै सुमना श्रेष्ठले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेकी छन् ।
आफूले पार्टीलाई गल्ती सुधार गर्न पटकपटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको श्रेष्ठले बताइन् ।
‘कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ’, रास्वपा परित्यागपछि नेपालखबरलाई प्रतिक्रिया दिँदै श्रेष्ठले भनिन् ।
उनले थपिन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो। यो स्वीकार्य छैन । अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला ।’
यस क्रममा पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले कांग्रेस-एमालेलगायत पार्टीका तेस्रो पुस्ताका नेतालाई पनि आफूले जस्तै विचार गर्न सुझाव दिएकी छन् ।
‘मैले पार्टी छाडेँ । कांग्रेस–एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्’, उनले भनिन्, ‘आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको बेहोराले हो । त्यो किन बोकेर बस्नुहुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’