काठमाडौँ,२५ भदौ ।
आज नेपाली सेनाको समन्वयमा जेनजीसँग वार्ता गर्ने तयारी भइरहेको छ ।

वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ ।

सेनाको यो सन्देश पछि जेनजीका विभिन्न समूहभित्र अहिले छलफल भइरहेको छ । राजनीतिका अलावा अर्थतन्त्रका जानकार व्यक्ति पनि पठाउने विषयमा जेनजीमा छलफल भइरहेकाे बताइएको छ ।

हामी नेपाल समूहमा केहीबेरअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत छलफलमा थिए । गत चुनावमा डडेल्धुरामा चुनाव लडेर चर्चामा आएका युवा सागर ढकालको नाम पनि छलफलमा छ । उनी हाल धनगढीमा रहेका छन् ।

यस्तै आन्दोलनमा सक्रिय भएका जेनजीका अन्य समूहभित्र पनि प्रतिनिधि पठाउने विषयमा कुराकानी भइरहेको छ । वार्तामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह जेनजीका तर्फबाट प्रस्तुत हुन्छन् या बेग्लै सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन ।

हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए । त्यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए ।

नेपाली सेनाको सहजीकरणमा वार्ता गर्ने र निकासको खोजी गर्ने तयारी भइरहेको छ । वार्ताको ढाँचा र निकासको मार्गचित्र भने अहिलेसम्म स्पष्ट भइसकेको छैन ।