काठमाडौँ,२३ भदौ ।
काठमाडौँमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवन परिसरभित्र प्रवेश गरेका छन् । प्रहरीको निषेधित क्षेत्र तोड्दै उनीहरू संसद् भवन प्रवेश गरेका हुन् ।
उनीहरू संसद् भवन प्रवेश गरेसँगै प्रहरीले हवाई फायर गरेको छ ।
भवनको गेटमाथिबाट उनीहरू भवन परिसरभित्र छिरेका छन् । जेनजीको प्रदर्शनमा तनाव बढ्न थालेको छ। बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा पानीको फोहोरा हानेको छ ।
त्यस्तै उत्तेजित हुन थालेका प्रदर्शनकारीले सरकारविरुद्ध नारा चर्काएका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर पनि च्यातेका छन् । उनीहरूले सरकार तिम्रो पाराले दु:ख पाए साराले भन्दै माइतीघरदेखि बानेश्वरसम्मको सडकमा प्रदर्शन गरेका छन् ।
यो क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध छ। अहिले प्रदर्शनकारी पनि थपिँदैछन् । प्रदर्शनकारीहरू विद्यालयकै ड्रेसमा किताब कापीको झोला बोकेरै प्रदर्शनस्थलमा पुगेका छन् ।