काठमाडौँ,२१ भदौ ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीले एक बालिकालाई ठक्कर दिएपछि स्थानीयले ललितपुरको हरिसिद्धि सडक अवरुद्ध गरेका छन् । दुर्घटनापछि स्थानीयले सडकमा अवरोध गरेका हुन् ।
हरिसिद्धि सडकको उकालोमा बालिकालाई गाडीले ठक्कर दिएको हो । बालिकालाई उपचारका लागि बीएण्ड बी अस्पताल लगिएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
यसकारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला शुरु भएको छ ।
यसैबीच अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाएको जानकारी दिँदै दुर्घटना भवितव्य भएको बताए । उनले महाधिवेशन भाँड्ने गरी कसैले पनि राजनीति नगर्न चेतावनी दिए ।