काठमाडौँ,२० भदौ ।
नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छन् । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको पुष्टि गरेका छन् । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेसँगै यो कार्यान्वयनमा आएको हो ।

आइस्पानका सीईओ खड्काका अनुसार हिजोबाटै यूआरएल ब्लक गर्ने कार्य सुरु भएको छ । उनले ‘facebook.com’ टाइप गर्दा नखुल्ने स्पष्ट पारे । हिजोदेखि नै यूआरएलहरू ब्लक गरिएको उनलेे बताए ।

यूआरएल भनेको कुनै पनि वेबसाइटको ठेगाना हो । इन्टनेट सेवा प्रदायकले यूआरएल ब्लक गरेमा प्रयोगकर्ताहरूले त्यो वेबसाइट खोल्न वा त्यसका सामग्री हेर्न सक्दैनन् ।

हालसम्म एप भने बन्द गरिएको छैन । मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकहरूले एउटै युनिफर्म स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडरअनुसार काम गर्न चाहिरहेको खड्काले बताए ।