काठमाडौँ,१९ भदौ ।
सूचीकृत नभएका सामाजिक सञ्जालहरूलाई के गर्ने भन्ने बिषयमा निर्णय लिन अहिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बैठक बसिरहेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ र मन्त्रालयका अधिकारीहरू, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि सहभागी रहेका छन् ।

बैठकमा सहभागी एक प्रतिनिधिका अनुसार सम्भवत: आजै रातिदेखि लागू हुने गरी मन्त्रालयले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय हुनसक्ने सम्भावना रहेको छ ।

सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन सरकारले दिएको समयसीमा बुधबार रातिदेखि सकिएको छ । तर, यो समाचार तयार पार्दासम्म कुनै पनि ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।

हालसम्म मेटा, अल्फाबेट, एक्स, रेडिट, लिंक्डइनजस्ता ठूला प्लाटफर्म दर्ता प्रक्रियाका लागि मन्त्रालयको सम्पर्कमा आएका छैनन् । तोकिएको समयभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नहुने सामाजिक सञ्जालहरूलाई क्रमशः निष्क्रिय पार्ने सरकारले चेतावनी दिएको छ ।