काठमाडौ,१७ भदौ ।
संघीय निजामती सेवा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो ।

१५ असारमा प्रतिनिधिसभाबाट पारित भएर सन्देशसहित गएको विधेयक मंगलबार राष्ट्रियसभाले पनि पारित गरेको हो ।
प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन विधेयक पारित भएको हो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

यसअघि आजै बसेकाे राष्ट्रिय सभाकाे विधायन ब्यवस्थापन समितिकाे बैठकले पनि साे विधेयक सर्वसम्मत पारित गरेको थियो ।

प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था समिति बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा त्रुटि भएको थियो ।

राष्ट्रिय सभाले भने प्रतिनिधि सभामा कुलिङ अफ पिरियडसम्बन्धी भएकाे गडबडी लगायतका अन्य विषयमा संशोधनसहित पारित गरेको हो।

राष्ट्रिय सभाबाट पारित विधेयक अब सन्देशसहित प्रतिनिधि सभामा पठाइने छ ।

प्रतिनिधि सभाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको विधेयकलाई पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने छन् । त्यसपछि यो ऐनका रुपमा लागू हुनेछ ।