आफुले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्ला भन्ने ठानेको उल्टो भएकाे गुनासो
बुटवल,१७ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रूपन्देही–३ का उम्मेदवार डा. लेखजङ थापाले आफ्नो निजी जीवनबारे उठेका प्रश्नबीच सम्बन्ध विच्छेदको प्रमाणित अदालती कागज सार्वजनिक गरेका छन् ।
न्युरोचिकित्सक समेत रहेका थापाले सामाजिक सञ्जालमार्फत उक्त कागज प्रस्तुत गर्दै जीवनमा दुई पटक विवाह भएको र एक सम्बन्ध विच्छेदमा टुंगिएको सत्य स्वीकार गरेका हुन् । उनले भनेका छन्, “यो मेरो निजी जीवनको सत्य हो, मैले यसबारे पार्टीलाई पनि जानकारी दिएको छु र कानुनी प्रक्रिया पूरा भएको प्रमाण मसँग छ ।”
थापाले सम्बन्ध विच्छेदपछि पनि सन्तानसँग साझा अभिभावकत्व दिइरहेको उल्लेख गर्दै भनेका छन्, “सम्बन्ध टुटे पनि बच्चाको भविष्यलाई सुरक्षित राख्न म सदैव सचेत छु ।”
उनले आफ्नो पारिवारिक जीवन कानुनसम्मत रहेको स्पष्ट गर्दै, आफूमाथि भएको प्रश्नलाई व्यक्तिगत आक्रमण नभई सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमाथि भएको सुनियोजित प्रहारको रुपमा व्याख्या गरेका छन् ।
थापाले थप भनेका छन्, “म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ । रूपान्तरणकारी राजनीति गर्न बल बन्न चाहन्छु, कमजोरी होइन ।”
उम्मेदवारमा छनाेट भएपछि आफुले गर्न खाेजेका कामहरू बारे हेडलाईन बन्ला र त्यहीँ समाचार बृद्वा आमालाई देखाएर आशिर्वाद लिन भैरहवा आउने मनसाय बनाएको उल्लेख गर्दै उनलेे लेखेका छन्- “रूपन्देही- ३ मा ९६ वर्षकी मेरी बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो । सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला । म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु । खै जिन्दगी सोँचे जस्तै कहाँ हुन्छ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरूलाई उत्तर दिदैछु ।”
उनलेे भनेका छन्-“प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण । म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला । तर मैले बुझेको छु यो आक्रमण म माथि होइन, यो बेथिति र विसङ्गतिमा रमाउनेहरूबाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो ।”






