दामोदरकुण्ड–कृष्णागण्डकी ‘उत्तरवाहिनी’–लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्ने निर्णय
बुटवल,१६ भदौ ।
लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका–१ मालुङ्गामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि सहकार्यलाई अझ प्रभावकारी बनाउने लगायत ९ बुँदे प्रतिवद्धता जनाएको छ ।

२०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न पहिलो बैठकमा गरिएका २१ बुँदे प्रतिवद्धता कार्यान्वयन समीक्षा गरी तीन महिनाभित्र कार्ययोजना तयार गर्ने, बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने सहमति भएको छ ।

बैठकले दामोदरकुण्ड–कृष्णागण्डकी ‘उत्तरवाहिनी’–लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्ने निर्णय गरेको छ । त्यस्तै, रुपान्तरणकारी कार्यक्रमलाई अन्तर प्रदेश साझेदारीमा अघि बढाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुस मसान्तभित्र पेश गर्ने, कार्तिक महिनामा उत्तरबाहिनी क्षेत्रमा हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने निर्णय भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्णय कार्यान्वयनका लागि दुवै प्रदेशका मुख्यमन्त्रीले संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएको र अहिले केही निर्णय कार्यान्वयन चरणमा रहेको जानकारी दिए ।

संविधानले प्रदेशलाई प्रदान गरेका जुन अधिकार हो । त्यसलाई अहिले पनि संघीय सरकारमार्फत प्रत्यायोजित हुन नसकेको अवस्थामा संविधानले दिएको अधिकारलाई फुलफेजमा कार्यान्वयन गराउनका लागि हामी यसरी नै समन्वय र सहकार्य गरेर अघि बढ्ने मुख्यमन्त्री आचार्यले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सीमा जोडिएका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेश सरकार विचमा समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

सिकाई आदान–प्रदानका लागि प्रमुख सचिव स्तरीय संयन्त्र गठन गर्ने, कानूनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने र दुवै प्रदेशका तीर्थ तथा पर्यटकीय स्थललाई जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन संयुक्त रुपमा तयार गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा दुबै प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सरोकारवाला पक्षका व्यक्तिहरुको सहभागीता रहेको थियो ।