नवलपरासी,१५ भदौ ।
क्रान्तिकारी किसान महासंघ नेपालले उँखु उत्पादक किसानको आन्दोलन प्रति ऐक्यबद्धता जनाएको छ ।
उँखु उत्पादक किसानको माग पूरा गर्न र भुमि बिद्येयक खारेज गर्न महासंघले माग गरेको हो ।
महासंघका जिल्ला संयोजक रामचन्द्र पोखरेलले आइतवार एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त माग पूरा गर्न ध्यानकर्षण गराएका हुन् । पोखरेलद्वारा हस्तक्षरित बिज्ञप्तिमा भनिएको छ – ‘अतः यतिबेला उँखु किसानहरु आन्दोलत छन् । कृषि प्रधान देश भनिएपनि सबै प्रकारका किसानले समयमा मल बीउ सिंचाई पाउन सकिराखेका छैनन् । किसानको कृषि उपजले उचित मुल्य पाउन सकेको छैन । यो बिकराल अवस्था प्रति क्रान्तिकारी किसान महासंघ नेपाल जिल्ला संगठन समितिको गम्भिर ध्यानाकर्षण भएको छ । तसर्थ हाम्रो संगठन उखु किसानलाई दिइदै आएको प्रतिक्विन्टल ७० रुपैया अनुदान हटाउने वा घटाउने दुवै हर्कत नगर्न र किसानलाई थप अनुदान प्रदान गर्न सरकारलाई चेतावनी दिन चाहन्छ । साथै श्रमजिवी उखुँ उत्पादक किसानको आन्दोलन प्रति ऐक्यबद्धता जाहेर गर्दछ ।’
महासंघले भारतबाट आयात हुने बिषादीयुक्त कृषिजन्य उत्पादन जस्तैः तरकारी, फलफूल, माछा, मासु र दुधजन्य आयातमा रोक लगाउन, कृषकलाई मल बीउ समयमै उपलब्ध गराई त्यसको बैज्ञानिक वितरण गर्न र सिंचाईको उचित ब्यवस्थापन, कृषि उपजको समयमै उचित सर्मथन मुल्य तोक्न समेत माग दोहोर्याएको छ । बिज्ञप्तिको अन्त्यमा थप भनिएको छ – ‘सरकारले किसान बिरोधी एंव बहुराष्ट्रिय कम्पनी पोस्ने भुमि बिद्येयक ल्याएकाे हुदाँ किसानमारा उक्त बिद्येयकको खारेजीको लागि संर्घषमा उत्रन हाम्रो संगठन किसान बर्ग तथा सबै सरोकारवालासंग आग्रह गर्दछ ।’






