काठमाडौँ,१५ भदौ ।
नेपाल राष्ट्र बैंकले यस बर्ष पनि नयाँ नाेटकाे सट्टा सुकिला नोट वितरण गर्ने भएको छ ।
नेपालीहरूका महान पर्व दसैं, तिहार, छठलगायतलाई मध्यनजर गरी यही भदौ २९ देखि असोज १० गतेसम्म नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । काठमाडौं थापाथलीस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयहरु विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट एकैसाथ सर्वसाधारणका लागि सुकिला नोट सटही हुनेछ।
यस्तै, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका शाखाहरुबाट पनि नोट सटही गर्न राष्ट्र बैंकले जनाएको छ । यस वर्ष पनि सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक/एक बन्डल नोट सटही गर्न पाउँछन् । तर, नागरिकको माग भएमा आवश्यकताका आधारमा त्यो भन्दा बढी रकम पनि सटही सुविधा दिन सकिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रामु पौडेलले जानकारी दिए ।
गत वर्षदेखि राष्ट्र बैंकले नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्दै आएको छ । अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले यस्तो निर्णय लिइएको राष्ट्र बैंकको तर्क छ । डिजिटल कारोबारलगायतका कारण ढुकुटीमा सुकिला नोट थुप्रिएपछि त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिादै आएको छ । दसैं, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको छ । यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जान्छ । बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्छन् ।
यद्यपि यसवर्ष रुपैयाँ पाँच दरका भने नयाँ नोट सर्वसाधारणलाई प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । सो दरका सुकिला नोट पर्याप्त नभएकाले नयाँ वितरण गरिने बताइएको छ ।
खासगरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्छन् । बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएका राष्ट्र बैंकले जनाएको छ । यो रकममा सिक्काको हिसाब हुँदैन । दसैं र तिहारका अवसरमा सामान्य सिक्कासँगै चाँदी र सुनले बनेका सिक्का, चाँदीका स्मारिका सिक्का र सुनका असर्फी पनि धेरै बिक्री हुँदै आएको छ ।



