काठमाण्डौ, १४ भदौ ।
राजधानी काठमाण्डौ केन्द्रीत प्रदर्शन गरिरहेका उखु किसानहरूले यही भदौ २५ गतेदेखि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन् । आज माइतीघरमा पत्रकार सम्मेलन गरेर उनीहरूले आन्दोलनको नयाँ कार्यक्रमको घोषणा गरेका हुन् ।
१३ वटा जिल्लाका उखु किसानहरू काठमाण्डौको माइतीघर मण्डलामा सात दिनदेखि धर्ना एवम् विरोध प्रदर्शन गरिरहँदा पनि सरकारले चासो नदिएको कारण सरकारलाई झकझकाउन राष्ट्रिय राजमार्ग बन्दको घोषणा गर्नुपर्ने अवस्थामा पुग्नुपरेको आन्दोलनका संयोजक श्यामबाबु रायले बताए । उनका अनुसार सबै जिल्लाका उखु किसानहरू सर्लाहीको हरिवनमा जम्मा भएर भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने तयारी भएको छ ।
आन्दोलनबाट हुने क्षतिको जिम्मा सरकार, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिनुपर्ने महासंघद्वारा जारी विज्ञप्तिमा चेतावनी दिइएको छ । महासंघले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम विनासर्त भुक्तानी गर्नुपर्ने, उखुको मूल्य तोक्दा किसान प्रतिनिधिहरुको सहभागिता सुनिश्चितता गर्नुपर्ने र किसानलाई सडकबाट घर–खेतमा फर्किने वातावरण बनाउन माग गरेको छ ।






