बुटवल,१२ भदौ ।
नेपालका तीन कम्यूनिष्ट पार्टीका नेताहरुले वामपन्थी कम्यूनिष्ट पार्टीहरुमा धुव्रिकरण जरुरी रहेको बताएका छन् ।
देशमा देखिएको निराशा र छटपटीबाट मुलुकलाई अगाडि बढाउन र वर्तमान राजनीतिक संकट समाधानका लागि बलियो कम्यूनिष्ट पार्टी निर्माणमा जुट्नुपर्ने उनिहरुको जोड छ ।
विहिबार सहिद वेपत्ता स्मृति प्रतिष्ठानद्धारा बुटवलमा आयोजित वर्तमान राजनीतिको संकट र निकास बिषक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेताहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलमा एकै दिन ५० लाख घुस खाने गरिएको प्रसंग उल्लेख गर्दै भ्रष्टाचारले नेपाल खाइसकेको बताए ।
मुलुकमा देखिएको वर्तमान समस्या दलाल पूजीँवादी संरचना भएको बताउदै उनले गणतन्त्रसम्मको परिवर्तनलाई आत्मसाथ गर्दै यसपछिको नेतृत्वको पुर्नगठन जरुरी रहेको बताए । उनले वर्तमान संकट समाधानका लागि आफूहरुले एउटा बहसको थालनी गरेको भन्दै उनले आफू सहित तीन जनाले काठमाडौंमा बहस गरेपछि देशभर तरंग पैदा गरेको उल्लेख गरे । उनले अहिलेको बहस व्यक्तिको नभई मुलुकको आवश्यकताले सृजना भएको बताए । नेपालको कम्यूनिष्ट आन्दोलन दिग्भ्रमित भएकाले दिग्दर्शन गर्नका लागि आफूहरुले छलफलको सुरुवात गरेको उनको भनाई थियो ।
यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीहरुको पुनर्गठन आवश्यक रहेको बताउदै अहिलेका कम्यूनिष्ट पार्टीहरुले जनताको मुद्धा नउठाएकाले अब वाम पार्टीहरुविच पुनर्गठन हुनुपर्ने आवश्यकता औल्याए । ‘दलहरु जनताका मुद्धामा स्पष्ट भएनन्, नीतिहरु प्रष्ट भएनन्, बरु अप्रष्ट, अलमल भए’ उनले भने –‘दलहरुमा लोकतन्त्र पनि छैन, गरिबि बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन ।’ शर्माले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको तर लोकतन्त्रको अभ्यासमार्फत विज्ञहरुको टिम बनाउन नसकेको बताए ।
दलहरुमा सुशासन, पारदर्शिता नभएको र चुनौति सामना गर्ने क्षमता पनि नभएको भन्दै शर्माले कम्युनिष्ट पार्टीको पुनर्गठन संगै आर्थिक प्रणाली पनि पुनःसंरचना गर्न अपरिहार्य भएको धारणा राखे ।
मुलुकको आर्थिक नीति पञ्चायतकालीन शैली नक्कल गरेर दलाल पुंजिवादले कब्जा गरेको शर्माको आरोप छ । माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा भएपछि उत्साह जागेपनि विघटनपछि निराशाको श्रृंखला शुरु भएको बताउदै नेता शर्माले कम्युनिष्ट नेताहरुले लोकतन्त्र र समाजवादको भाषण गरेपनि व्यवहार ठीक उल्टो भएको टिप्पणी गरे ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताए । नेपालमा कम्यूनिष्ट पार्टीहरु दलाल पूजीवादको कब्जामा रहेको उल्लेख गर्दै उनले जनतामा देखिएको निराशा र छटपटी चिर्न अब सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्यूनिष्ट पार्टी चाहिएको बताए ।
भुसालले नेपालमा व्यवस्था र संविधान बदलिएपनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताए । यी कुराहरु नबदलिदा राजाकै पालादेखिको दलाल पूजीँवाद प्रभावमा दलहरु फसेको उनले टिप्पणी गरे । उनले मुलुक वर्तमान छटपटीबाट नयाँ इतिहास बनाउने प्रसव पिडामा रहेको बताए ।
वामपन्थी आन्दोलनलाई धु्रवीकरण गर्नुपर्ने बेला आएकाले आफूहरु वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको बताउदै उनले अब केन्द्रदेखि वडासम्मै वामपन्थी धुव्रिकरण आवश्यक रहेकोमा जोड दिए । उनले पुरानोले काम नगरेको तर नयाँ नबसिकेकोले सर्पले काँचुली फेर्ने अवस्थामा जस्तै छटपटी भएकाले नयाँ इतिहास बनाउन बहस जरुरी रहेको बताए ।
क्रान्तिको लागि कसम खाएको व्यक्तिको हिसाबले सपनाले थिचिएर ऐठन हुने अस्थामा आएको भन्दै नेता भुसालले माओवादीभित्र जनयुद्ध र एमालेभित्र बहुदलीय जनवादको संकल्प दलाल पूजीवादको भित्तामा ठोक्किएर घाईते भएकाले मुलुकको भाग्य र भविष्यका लागि एकजुट भएको बताए ।