बुटवल,११ भदौ ।
रूपन्देहीको गैडहवासहित देशका २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै सो निर्णय कार्यान्वयनको लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ ।

नयाँ इलाका प्रशासन कार्यालय स्थापना हुने स्थानहरूमा रूपन्देहीको गैडहवा,अर्घाखाचीको सितगंगा, चितवनको खैरहनी,तनहुँको भिमाद,डोल्पाको धो, मुगुको खत्याड, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, बझाङको देउरा, अछामको साफेबगर, डोटीको विपिनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेलौली रहेका छन् ।

मन्त्रालयका अनुसार ताप्लेजुङको सिरिजंगा, खोटाङको हलेसी, ओखलढुंगाको घोराखोरी, सिरहाको सुखिपुर, धनुषाको धनुषाधाम, सर्लाहीको वलरा, पर्साको पोखरिया, सिन्धुलीको दुधौली र काठमाडौंको टोखामा इलाका प्रशासन कार्यालयहरू स्थापना राखिने छ ।

गृहको वार्षिक योजनामै समेटिएको सो योजनामामा कार्यालय खोल्नका लागि भौतिक संरचना र कर्मचारीको लागि दरबन्दी व्यवस्थापन गर्ने विषयमा बजेट विनियोजित गरिएको मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए । अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरेपछि नयाँ इलाका प्रशासन कार्यालय स्थापना स्थापना गर्ने विषय कार्यान्वयन हुन लागेको उनलेे बताए ।

सेवा प्रवाहलाई थप सहज र सरल बनाउनुका साथै सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबीच देखिएको असमानतालाई समाधान गर्न आवश्यक भएको भन्दै मन्त्रालयले इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढाएको हो ।

मन्त्रालयले सचिवस्तरको निर्णयबाट वि.सं. २०८१ पुस ५ गते संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेस गर्न कार्यदल बनाएको थियो । मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा बनेको कार्यादलको सिफारिसअनुसार इलाका प्रशासन कार्यालय राख्ने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने योजना गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले आन्तरिक स्रोत व्यवस्थापन गरेर तराई मधेसदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय थप गर्ने बताएको छ ।