बुटवल,१० भदौ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८०’ मा रहेको निजी विद्यालयविरुद्धको प्रावधान सच्याउन आग्रह गरेको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालले आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी निजी विद्यालयलाई विस्थापित गर्ने गरी ल्याइएका व्यवस्थाले मुलुकको शिक्षाक्षेत्रमा गम्भीर असर पर्नसक्ने जनाउँदै निजी विद्यालयविरुद्धको प्रावधान सच्याउन आग्रह गरेका हुन् ।

जारी विज्ञप्तिमा भनिएको छ– “विधेयकले निजी विद्यालयको दीर्घकालीन योगदान र रोजगार सिर्जनालाई नदेखी पूर्ण रुपमा राष्ट्रियकरण गर्ने प्रावधान ल्याउनु शिक्षा प्रणालीको दीर्घकालीन हितमा हुने छैन ।” शिक्षामा निजी क्षेत्रकाे ८ अर्ब लगानी, ३४ प्रतिशत याेगदान र ५ लाखभन्दा बढी रोजगारी सिर्जना गरेको तथ्य प्रस्तुत गर्दै सरकारले ल्याएको प्रस्ताव पुनःविचार गर्न आग्रह गरिएकाे छ ।

विधेयकले तोकेको शुल्क निर्धारण, आवासीय विद्यालयको विस्थापन र पूर्ण राष्ट्रियकरणको धारणा शिक्षा क्षेत्रमा निजी लगानीकर्ताको मनोबल तोड्ने संघको निष्कर्ष छ। विज्ञप्तिमा भनिएको छ, “शिक्षा गुणस्तर कायम गर्न र मुलुकलाई योग्य मानव संसाधन उत्पादन गर्न निजी विद्यालयहरूको भूमिका अस्वीकार्य छैन । यस्ता प्रावधान कार्यान्वयन भएमा शिक्षा क्षेत्र नै संकटमा पर्नेछ ।”

संघले यस विषयमा सबै राजनीतिक दल, सांसद, सरोकारवाला, विभिन्न संघसंस्था र निजी विद्यालयका प्रतिनिधिलाई गम्भीर भएर छलफल गर्न आग्रह गरेको छ । साथै, नेपाल उद्योग वाणिज्य महासंघसहितका सरोकारवालासँग सहकार्य गर्दै शिक्षा प्रणालीमा समयानुकूल सुधार र सन्तुलित व्यवस्थापन गर्नुपर्नेमा संघले जोड दिएको छ ।