काठमाडौ,९ भदौ ।
यसवर्षको तीज गीतमध्ये विष्णु माझीको स्वर रहेको ‘म त नराउरी’ बोलको गीत सर्वाधिक हेरिने तीज गीत बनेको छ । १२ दिनअघि सार्वजनिक साे गीतले अहिलेसम्म युट्युवमा ७३ लाख भ्युज पाएको छ ।

विष्णुको यस गीतले अरु वर्षजस्तो खासै चर्चा नपाए पनि छोटो समयमा लोभलाग्दो भ्युज पाएको हो ।

केही दिनअघि एलिना चौहानको तीज गीत ‘छोरीको शिर आमा’ भ्युजको आधारमा अगाडि थियो । तर, तीजको संघारमा विष्णुकै गीत सर्वाधिक हेरिएको छ । एक महिनाअघि सार्वजनिक ‘छोरीको शिर आमा’ लाई युट्युवमा ६१ लाख पटक हेरिएको छ । चौहानको ‘छोरीको शिर आमा’ गीत भन्दा माझीको ‘म त नराउरी’ बाेलकाे गीत १२ लाख बढी भ्युजले अगाडी छ ।

‘पुतलीको भट्टी’ भाग २१ रहेको गीतमा विष्णुकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई गीतमा एकसाथ नचाइएको छ ।

यो गीत शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्ट सम्पादन गरेका छन् । सार्वजनिक गीतमा मोडल ललिता पौडेलको अभिनय रहेको छ ।