भैरहवा,९ भदौ ।
भारत–चीनबीच लिपुलेक हुँदै व्यापार गर्ने सम्झौताविरुद्ध रुपन्देहीको भैरहवामा वामपन्थी दलहरूले विरोधसभा गरेका छन् ।

सभामा सहभागी नेताहरूले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न अङ्ग भएको दोहोर्याउँदै भारत–चीन सम्झौता नेपालको सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको दाबी गरे ।
विरोधसभामा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य हकिक कुल्लाह खाँ,क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी क्षेत्रीय ब्युराे इन्चार्ज प्रेम सुवेदी, नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य वसन्त श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का प्रदेश उपाध्यक्ष रमेश भण्डारी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, नेकपा (मसाल ) का रुपन्देही जिल्ला प्रबक्ता लालचन्द पन्थलगायत नेताहरूले सम्झौता स्वीकार्य नभएको भन्दै उक्त सम्झौता खारेजीको माग गरे ।
वक्ताहरूले लिपुलेक व्यापार सम्झौता नेपालमाथि गरिएको “आर्थिक, भौगोलिक र राजनीतिक अतिक्रमण” भएको भन्दै यसलाई खारेज गर्न सरकारले कूटनीतिक पहलमार्फत कदम चाल्नुपर्नेमा जोड दिए । साथै, देशभक्त शक्तिहरूलाई एकजुट भई राष्ट्रियता र भू–अखण्डता रक्षामा जुट्न आह्वानसमेत गरे ।
यसै क्रममा वामपन्थी दलहरूले प्रमुख जिल्ला अधिकारीलाई विरोधस्वरूप ज्ञापनपत्र समेत बुझाएकाे क्रान्तिकारी कम्युनिस्ट पार्टीका पाेलिट्ब्युराे सदस्य तथा लुम्बिनी क्षेत्रीय ब्युराे इन्चार्ज सुवेदीले जानकारी दिए ।






