दाङ,८ भदौ ।
दाङको देउखुरीमा आइतबार बिहान टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार प्युठानको ऐरावती गाउँपालिका–५ का १९ वर्षीय सुशील थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।

मोटरसाइकल चालक ऐरावती गाउँपालिका–५ प्युठानका २२ वर्षीय प्रचण्ड थापा घाइते भएका छन् । उनलाई भालुवाङ अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक चन्द्रौटादेखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिपर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।